Saturday, December 5, 2009

गजल

बहरे हजज अस्तर
२१२१+२२+२२+१२१२

आँसु चै नझार्नू डोली चढेपछि
जीतमा नहार्नू डोली चढेपछि

तड्पिदैछु पल् पल् उन्कै वियोगमा
सम्झना नमार्नू डोली चढेपछि

जो हजार जन्मै बस्नेछ पर्खिदै
दोषमा नपार्नू डोली चढेपछि

त्याग त्यो लुकाए तिम्रै खुशी सँगै
प्यार यो नबार्नू डोली चढेपछि

आँसु छल्किदैथ्यो मर्दै थियो विगत्
यो कथा नतार्नू डोली चढेपछि

Sunday, October 19, 2008

गजल

बहरे मुतकारिब

तिमी छ्यौ समीपै र पो जिन्दगानी
रसाएर आए भुलेको जवानी

हराए चटक्कै सबै पीर-बेथा
बनाएर त्यो केशराशी सिरानी

छकाएर आँखा जसै दूर भाग्यौ
भिजे यी परेली नजानी नजानी

बिना त्यो भरोसा म बाँचू कसोरी ?
म प्यासी निराशी तिमी पो त पानी

गजल

तिमी हाँसेर गयौ तिमी डोलीमा गयौ
सोह्र श्रृङ्गार गरी रातो चोलीमा गयौ

वाचा तिमीले खाथ्यौ देउरालीमा सयौँ
आज दिएर धोका एकै बोलीमा गयौ

ठूला महलभित्र तिम्रो सपना रै'छ
बज्दै हजार बाजा भव्य टोलीमा गयौ

थरै न्याउली रोला धेरै रुने मै भएँ
देखेँ हाँसेको खुबै त्यस्तै भोलिमा गयौ

लड्दै पिउँदै उठ्दै हिँड्छु सडकमा म
तिमी बनेर रानी सुखी खोलीमा गयौ

गजल

दिएको चिनो तस्विर हेरी नसम्झ मलाई
आँसुको थोपा झर्नेछ फेरि नसम्झ मलाई

भावीको लेखा कर्मको फल बोकेर सौगात
दुःखको पला आँउदा खेरि नसम्झ मलाई

छुटेको माया टुटेको मुटु दुखेको बेलामा
लुकेर रुँदै अक्षर केरी नसम्झ मलाई

द्यौराली भाकी मन्दिरभित्र वाचा र कसम
जलेको मन यादले घेरी नसम्झ मलाई

बन र पाखा मेला र पात रमेको क्षणले
खुकुरी धार घाँटीमा सेरी नसम्झ मलाई

Monday, October 13, 2008

गजल

पराई पाउ ढोक्दै सो पखाल्दै पो रुदै हौली
मजेत्रोले डिलैको आसु टाल्दै पो रुदै हौली

हुरीको एक झोकैमा निभेको त्यो दियो छेक्दै
झिनो आसै र आसाबीच बाल्दै पो रुदै हौली

थपी माया पठाएका सबै मेरा चिठी खोली
कठै एकान्तमा पढ्दै अगाल्दै पो रुदै हौली

सधै झस्केर आधारातमा उठ्छ्यौ जसै प्यारी
र आफ्नो तक्दिरैमा दोष हाल्दै पो रुदै हौली

डुबेछ्यौ यादमा घण्टौ बसी एक्लै पधेरीमा
हतारोमा भरी घैला उचाल्दै पो पो रुदै हौली